आइतबार २१ मंसिर, २०८२

कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्ड कालोपत्र सुरु

कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्ड कालोपत्र सुरु

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको मालढुंगा–बलेवा खण्डमा कालोपत्र सुरु भएको छ ।

कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुंगा–बलेवा खण्डको १० किमि सडक कालोपत्रका लागि थापिएको सम्झौता मिति सकिनै लाग्दा काम सुरु भएको छ ।

अहिले बलेवा विमानस्थलबाट मालढुंगातर्फ र मालढुंगाको चेकपोष्टदेखि काठेखोलाको पुलतर्फ कालोपत्र गर्न थालिएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमले जानकारी दिए ।

उनले मंसिरसम्म कालोपत्रको काम गरिने र बाँकी सडक जाडो सकिएपछि फागुनबाट थालिने गरी मालढुंगाबाट कालोपत्रको काम सुरु गरिएको बताए ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुंगा खण्ड तीन वर्षमा कालोपत्रको चरणमा पुगेपनि समस्याग्रस्त क्षेत्रका रूपमा दब्ल्याङ र कालाखोलामा पहिरो पन्छाउनै बाँकी छ । आयोजनाको अहिलेसम्मको कुल प्रगति ७० प्रतिशत पुगेको छ ।

दुई वर्षमा सक्नेगरी खण्ड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो । थपेको म्याद समेत यही २०८२ मङ्सिर मसान्तमा सकिँदै छ । मंसिर मसान्तमा बलेवाको दम्कादेखि विमानस्थलसम्म र मालढुंगादेखि दब्ल्याङसम्मको सडक कालोपत्र भइसकने छ भने बाँकी खण्डमा पूर्वाधार सकेर फागुनदेखि सबै सडक कालोपत्र गरिने छ ।

इन्जिनियर गौतमका अनुसार बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौता अगावै काम सम्पन्न भइसकेको छ भने छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुंगा सडकको १० किमि भने एक पटक म्याद थप गरेपछि कालोपत्रको काम थालिएको हो ।

‘मंसिर मसान्तसम्म तापक्रम पुग्छ, कालोपत्र हुन्छ, त्यसपछिका दुई महिनमा अन्य पूर्वाधार सकिन्छ, चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई ताकेता गरेका छौं, मंसिरसम्म कार्यप्रगति हेरेर मात्रै म्याद थप हुन्छ, अब एकपटक छ महिनालाई म्याद थपे सम्पन्न हुने देखिएको छ,’ इन्जिनियर गौतमले भने, ‘कालोपत्रको काम सुरु भएकाले म्याद थप गरेर सम्पन्न गछौं ।’

गौतमका अनुसार अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि ५५ करोड रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । पूर्वाधारको काम अन्तिम चरणमा पुर्‍याएर कालोपत्रको काम थालेको निर्माण व्यवसायीका प्रतिनिधि दिनबन्धु काफ्लेले जानकारी दिए ।