स्पेनमा कयौँ नेपालीलाई ‘आधुनिक दास’ बनाइयो, १८० नेपालीको मुद्दा अदालतमा
काठमाडौं । स्पेनमा नेपालीलगायतका श्रमिकलाई अमानवीय र असम्मानजनक रूपमा श्रममा लगाइएको घटना अदालतमा पुगेको छ । उनीहरूलाई कृषि क्षेत्रमा ‘आधुनिक दास’ सरह काम लगाइएको भन्दै ११ जनालाई पक्राउ गरेपछि घट्नाको थप रहस्य खुल्दै गएको हो ।
प्रहरीद्वारा डिसेम्बर ४ तारिखका दिन जारी सार्वजनिक विज्ञप्ति अनुसार फसेका आप्रवासीहरू प्राय नेपालबाट आएका करिब तीन सय जना रहेको जनाएको छ ।
जसमध्ये १८० जना नेपालीको मुद्दा अदालती प्रक्रियामा गएको एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । उनले भने, ‘घट्नापछि हामी तीन पटक स्थलगत अध्ययन गरेर आयौँ । जसमध्ये १८० जना नेपालीको मुद्दा अदालतमा पुगेको छ । हाम्रो उपाध्यक्ष सुरेन्द्र भुजेलले कानुनी सहयोग र भाषा रूपान्तरणमा सहयोग गरिरहनु भएको छ । अन्य कुरा अदालतले नै निर्णय गर्ने हो ।’
श्रेष्ठका अनुसार नेपालीहरूका लागि राहत वितरण पनि गरिएको र कानुनी सेवा दिइरहेको छ । स्थानीय यूरोन्यूज डटकमका अनुसार शेनचेन क्षेत्रमा पर्यटक भिसाबाट प्रवेश गराएर ती आप्रवासीहरूलाई विभिन्न क्षेत्रका गाउँ–बस्तीमा लगेर कृषि फार्ममा काम लगाइएको थियो । पछि गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर ११ गिरोहलाई पक्राउ गरेको थियो ।
उनीहरूको अदालती प्रक्रियाको काम काम यही १०, ११ र १२ तारिख हुँदै छ । चार जना नेपालीको बयान लिइसकेको छ भने अन्यको फोनमार्फत पनि बयान लिने तयारी छ । स्पेनी प्रहरीले बिहीबार ३०० कामदारहरू आपराधिक सञ्जाल मार्फत प्रवेश गरेको जनाएको छ । कामदारहरूलाई मध्य र पूर्वी स्पेनका फार्महरूमा अवैध रूपमा राखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले ११ जनालाई पक्राउ गरेको छ भने अन्य दुई जनाको अनुसन्धान गरिरहेको छ । पीडितहरू कुल ३२२ जना छन् । तीमध्ये २९४ जनासँग स्पेनमा बस्न र काम गर्न उचित कागजात नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तस्करी गरिएका धेरैजसो पर्यटक भिसामा प्रवेश गरेका थिए, जसमा युरोपेली संघको शेन्जेन क्षेत्र भित्रका अन्य देशहरू पनि समावेश छन् ।
शेन्जेन क्षेत्र २७ ईयू सदस्य देशहरू मध्ये २५, साथै लिक्टेनस्टाइन, आइसल्याण्ड, नर्वे र स्विट्जरल्याण्ड मिलेर बनेको हो । स्पेन पुगेपछि, कामदारहरूलाई भर्ती गरेर देशका विभिन्न भागहरूमा श्रम अधिकार विना काम लगाइएको प्रहरीले जनाएको छ ।
स्पेनी प्रहरीले जारी गरेको भिडियोमा दर्जनौँ मानिसहरू कम बत्ती भएको कोठामा लाइनमा राखिएका गद्दामा छेउछाउमा बसेका थिए । आपराधिक सञ्जालले दक्षिण पूर्वी स्पेनको अल्बासेटमा पीडितहरूको आवासको व्यवस्था गरेको थियो ।
उनीहरूलाई ‘पूर्ण रूपमा अपमानजनक र अमानवीय जीवनयापन गर्ने अवस्था’ मा कमजोर भेन्टिलेसन र बाथरुममा सीमित पहुँच भएका कोठाहरूमा कोचिएको प्रहरीले जनाएको छ ।
