शनिबार ०९ फागुन, २०८२

१६औं योजनालाई प्रभावकारी बनाउन कार्ययोजना ल्याउँदैछौं : उपाध्यक्ष श्रेष्ठ

१६औं योजनालाई प्रभावकारी बनाउन कार्ययोजना ल्याउँदैछौं : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले १६औं योजनालाई प्रभावकारी बनाउन कार्यान्वयन कार्ययोजना ल्याउन लागिएको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा १६औं योजनापत्रमा राखिएका लक्ष्यहरू केही महत्त्वाकांक्षी भए पनि पूरा गर्न सकिने स्थिति रहेको बताउँदै कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी भएको जानकारी दिए ।

उनले १६औं योजनामा अहिले पर्यटकको १३ दिन बसाइ रहेकोमा त्यसलाई १५ दिन बनाउने, अहिले एउटा पर्यटकले गर्ने दैनिक खर्च ४० डलरलाई त्यसलाई दोब्बरले वृद्धि गरी ८५ डलर बनाउने, पर्यटन क्षेत्रको जीडीपीमा योगदान २ बाट ७ प्रतिशत बनाउने रहेको बताए । यी लक्ष्यहरु पूरा गर्न कार्ययोजना ल्याउन लागिएको उनले बताए ।

श्रेष्ठले भने, ‘१६औं योजनाका लक्ष्यहरू महत्त्वाकांक्षी जस्तै छ, अहिले पर्यटकको १३ दिनको बसाइलाई १५ दिन बनाउने, अहिले एउटा पर्यटकले गर्ने दैनिक खर्च ४० डलरलाई त्यसलाई दोब्बरले वृद्धि गरी ८५ डलर बनाउने, पर्यटन क्षेत्रको जीडीपीमा योगदान २ बाट ७ प्रतिशत बनाउने छ । यी हासिल गर्न सरोकारवाला सबैको सहयोग मिल्नुपर्छ । १६औं योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन योजना आयोगले कार्यान्वयन कार्ययोजना बनाएर मन्त्रिपरिषद्मा पठाइसकेको छ । कार्ययोजनामा क्षेत्रगत कार्ययोजना बनाइएको छ । जसले गर्दा मन्त्रालय, विभागहरुलाई काम गर्न सहज हुनेछ ।’

१६औं योजनाका लक्ष्यहरू पूरा गर्न ल्याउन लागिएको कार्ययोजनाले आगामी दिनमा मन्त्रालयहरूलाई काम गर्न सघाउ पुग्ने उनको विश्वास छ ।