टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी पहिलो साता हुने
काठमाडौँ । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा जनवरी ५ देखि ७ सम्म आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ । ट्रफी टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन् ।
नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला काठमाडौँ र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो । टी-२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याउन लागिएको हो ।
