इरानको जवाफी फायरले तनाबमा अमेरिकी अधिकारीहरु
काठमाडौँ । शनिबार इरानमा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको आक्रमणपछि अमेरिकी सैन्य शिविरको हवाई सुरक्षामा देखिएको कमजोरीलाई लिएर पेन्टागनका अधिकारीहरू चिन्तित भएका छन्।
अमेरिकी पत्रिका वासिङटन पोस्टका अनुसार इरानसँगको युद्ध अपेक्षाभन्दा लामो समयसम्म तन्किँदा र अमेरिकी आधार शिविरहरूमा लगातार आक्रमण भइरहँदा यस्तो चिन्ता बढेको हो।
समाचारअनुसार हालसम्म चार जना अमेरिकी सैनिकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। दुई दिनसम्म चलेको सैन्य कारबाहीमा इरानी मिसाइल र ड्रोन प्रहार हुने सम्भावित क्षेत्रहरूमा व्यापक हमला गरिए पनि इरानले प्रतिकार जारी राखेपछि अमेरिकी पक्ष थप दबाबमा परेको छ।
करिब २०० सैन्य विमान प्रयोग गरेर गरिएको आक्रमणबाट इरानमा केही क्षति पुगेको भए पनि उसलाई पूर्ण रूपमा आक्रमण गर्न नसक्ने अवस्थामा भने पुर्याउन सकिएको छैन। अहिले इरानले अरब क्षेत्रदेखि युरोपको साइप्रससम्म ड्रोन र मिसाइल आक्रमण जारी राखेको बताइएको छ।
