मतदातालाई मतदान स्थलमा जाने बाटो छेके २५ हजार जरिबाना
काठमाडौं । आगामी बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ । मतदातालाई मतदान स्थलमा जान कसैले पनि रोक्न हुँदैन ।
‘कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन’ निर्वाचन आचासंहितामा भनिएको छ । यस्तो कार्य गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
मतदाताले पनि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।
निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
आयोगले सोमबार विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो ।
आयोगका अनुसार निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेको जानकारी दिए ।
उनका अनुसार मतदान अधिकृतहरू मतदान केन्द्र र स्थलमा गइसकेका छन् । मतदान प्रक्रियाका लागि आवश्यक सामग्रीहरू पनि पुगिसकेका छन् ।
२१ फागुनको निर्वाचनका लागि आयोगले ४ फागुनदेखि १८ फागुनसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो ।
गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यो मतदानको प्रक्रिया सुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ ।
