मंगलबार १९ फागुन, २०८२

यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने

यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई फेब्रुअरी २८ पछि ‘ओभरस्टे’ भए पनि जरिबाना नलाग्ने भएको छ ।

यूएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर यूएईमै बस्नु परेका (ओभरस्टे) नेपालीहरूलाई जरिबाना (फाइन) नलाग्ने जनाएको हो ।

दूतावासले अतिरिक्त जरिवाना नलाग्ने भएकाले संयमता अपनाउन अनुरोध गरेको छ । साथै यूएईमा रहेका नेपालीलाई अनलाइन पोर्टलमार्फत आफ्नो अवस्था जानकारी दिन समेत अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले जारी गरेको अनलाइन पोर्टलमा आफ्नो अवस्थाबारे जानकारी दिन दूतावासले अनुरोध गरेको हो ।

गत शनिवारदेखि इजरायल–अमेरिकाले इरानमा हवाई आक्रमण गर्दै आएका छन् । इरानले प्रतिआक्रमणको रूपमा इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा आक्रमण गर्दै आएको छ ।

शनिबार नै गरेको हवाई आक्रमणमा यूएईको आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा एक नेपालीको मृत्यु भएको थियो । मिडल इस्ट कम्पनीमा सुरक्षा गार्डमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठले ज्यान गुमाएका थिए ।