मंगलबार १९ फागुन, २०८२

मध्यपूर्वमा चर्किँदो द्वन्द्वबीच अमेरिकाद्वारा खाडी मुलुकका दूतावास बन्द

मध्यपूर्वमा चर्किँदो द्वन्द्वबीच अमेरिकाद्वारा खाडी मुलुकका दूतावास बन्द

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी क्षेत्रमा बढ्दो सुरक्षा तनावका बीच विभिन्न देशस्थित आफ्ना दूतावास तथा कूटनीतिक मिसनहरूको सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न निर्देशन समेत दिएको छ।

अमेरिकी दूतावास रियादले मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण कन्सुलर तथा नियमित सेवाहरू स्थगित गरिएको जनाएको छ। दूतावासले सामाजिक सञ्जाल एक्समार्फत साउदी अरबमा रहेका अमेरिकी नागरिकलाई दूतावास परिसर आसपास नजान तथा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। यसअघि साउदी अधिकारीहरूले रियादस्थित अमेरिकी दूतावास लक्षित गरी दुई वटा ड्रोन आक्रमण भएको पुष्टि गरेका थिए।

यस्तै, कुवेतस्थित अमेरिकी दूतावासले पनि अर्को सूचना जारी नभएसम्म सबै सेवा निलम्बन गरिएको घोषणा गरेको छ। सुरक्षा जोखिम बढ्दै गएको भन्दै अमेरिकी विदेश विभागले बहराइन, जोर्डन र इराकमा कार्यरत गैरआवासीय सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई तत्काल देश छोड्न आदेश दिएको जनाएको छ।

विदेश विभागले ती देशहरूलाई सरकारी कर्मचारी र परिवारका सदस्यहरूलाई स्वैच्छिक रूपमा प्रस्थान गर्न अनुमति दिनसमेत आग्रह गरेको जानकारी दिएको छ। सुरक्षा अवस्था थप जटिल बन्न सक्ने आकलन गर्दै यस्तो कदम चालिएको अमेरिकी अधिकारीहरूको भनाइ छ।

मध्यपूर्व क्षेत्रमा पछिल्लो समय तीव्र रूपमा द्वन्द्व चर्किंदै गएको छ। गत शनिबार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको आक्रमणमा इरानका उच्च सैन्य कमान्डरहरू तथा सर्वोच्च नेतृत्व तहका व्यक्तिहरू मारिएको दाबीपछि क्षेत्रीय तनाव झन् बढेको हो।