कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने
काठमाडौं । कतारले सबै श्रेणीका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने भएको छ ।
कतारको आन्तरिक मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका प्रवेश भिसा २८ फेब्रुअरी (शनिबार)देखि लागू हुने गरी एक महिनाका लागि थप गरेको जनाएको हो ।
मन्त्रालयका अनुसार भिसा नवीकरण स्वीकृत विद्युतीय प्रणालीमार्फत स्वचालित रूपमा गरिनेछ । यसका लागि सम्बन्धित व्यक्तिले कुनै शुल्क तिर्नु नपर्ने र कार्यालय धाउन वा थप निवेदन दिनु नपर्ने स्पष्ट पारिएको छ ।
तर, २८ फेब्रुअरीभन्दा अगाडि भिसा उल्लंघन (ओभरस्टे) गरेका व्यक्तिहरूले भने ओभरस्टे अवधिको तोकिएको जरिवाना पहिले बुझाउनुपर्नेछ । जरिवाना तिरेपछि मात्रै उनीहरूलाई पनि सोही मितिदेखि लागू हुने गरी नवीकरण र शुल्क छुटको सुविधा उपलब्ध हुनेछ ।
