सुदूरपश्चिम प्रदेशमा निर्वाचनको सबै तयारी पूरा, मतदानमा सहभागी हुन आयोगको अपिल
धनगढी । सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बिहीबार बिहान ७ बजेदेखि हुने मतदानको सबै तयारी पूरा भएको जानकारी दिए ।
उनकाअनुसार १६ निर्वाचन क्षेत्रका दुई हजार १९९ मतदान केन्द्रमा मतपत्र, मतपेटिकासहित कर्मचारी सोमबार नै पुगिसकेका थिए ।
उनीहरूले केन्द्रमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा गर्दै सर्वदलीय बैठक पनि सम्पन्न गरिसकेको भट्टले बताए ।
निर्वाचन आयोगले भयरहित वातावरणमा मतदान प्रक्रियामा सहभागी हुन समेत अपिल गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि सबै क्षेत्रमा सुरक्षा प्रबन्ध दुरुस्त बनाइएको जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले केन्द्रीय सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा परिचालन भएको जानकारी दिए ।
उनकाअनुसार प्रदेशका सबै मतदान स्थलको सुरक्षा संवेदनशीलता विश्लेषण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एसएसपी विष्टले निर्वाचन सुरक्षाका लागि प्रदेशभर सात हजार ९८ जना प्रहरी परिचालन गरिएको बताए ।
उनकाअनुसार १३ हजार ६४७ जना निर्वाचन प्रहरी पनि सहयाेगीका रूपमा खटिएका छन् ।
सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले पनि चुनावी सुरक्षाका लागि सबै क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भईसकेको बताए ।
उनकाअनुसार प्रदेश भर पाँच हजार बढि सशस्त्र प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले पनि चुनावी सुरक्षाका लागि सबै क्षेत्रमा सेना परिचालन भइसकेको जनाएको छ ।
बिहीबार हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन् ।
तथ्यांकअनुसार पुरुष मतदाता ८ लाख ५२ हजार २१९ रहेका छन् भने महिला मतदाता संख्या ८ लाख ६४ हजार ४२३ पुगेको छ ।
अन्य मतदाता १८ जना रहेका छन् । महिला मतदाता पुरुषभन्दा १२ हजार २०४ ले बढी छन् ।
जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता कैलालीमा रहेका छन् । कैलालीमा ५ प्रतिनिधि सभा क्षेत्र अन्तर्गत ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन् ।
यहाँ २३७ मतदान स्थल र ६४१ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता रहेका छन् भने अछाममा १ लाख ६५ हजार ३३७ मतदाता छन्।
बैतडीमा १ लाख ५६ हजार ३७२, डोटीमा १ लाख २८ हजार ३९९, बझाङमा १ लाख २६ हजार ९०३ मतदाता रहेका छन् ।
डडेलधुरामा ९३ हजार ४०३, दार्चुलामा ९२ हजार ९४८ र बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन् ।
