रामेछापमा स्वास्थ्य चेकजाँच गर्न दुई घण्टा हिंड्नुपर्ने बाध्यता

रामेछापमा स्वास्थ्य चेकजाँच गर्न दुई घण्टा हिंड्नुपर्ने बाध्यता

काठमाडौं, जेठ १७

केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ को श्री मानन्धर सेवा समाजसँग समन्वय गरेर एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । राजधानी काठमाडौंबाट करिव ३ घण्टाको दूरीमा रहेको खनियापानी स्वास्थ्य चौकीमा स्त्रीरोग, दाँत, आँखा, जनरल फिजिसियन तथा फिजियो थेरापी सेवा संलग्न गरी शिविर सञ्चालन गरेको थियो । 

स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले ग्रामिण भेगमा भौगोलिक असहजताको कारणले अपेक्षित सेवा दिन असमर्थ रहेको स्वीकारे । हुनपनि पालिकाभर रगत, छाला, आँखा, दाँत आदिको ल्याब परीक्षण हुँदैन । ससानो स्वास्थ्य समस्याको लागि स्थानियबासी दुई घण्टाको बस यात्रा तय गरेर काभ्रेको धुलिखेल अस्पताल पुग्न बाध्य छन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन ३९६ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । तर शिलान्यास भएको अस्पताल सुनापति गाउँपालिकामा बनिसकेको छैन । अस्पतालको भौतिक संरचना शिलान्यास भएर पनि अपेक्षित काम नहँुदा सुनापतिका स्थानियबासी असन्तुष्टि व्यक्त गर्छन् । 

रामेछापको सुनापति गाउँपालिका राजधानीबाट नजिकै रहेपनि विकास निर्माण तथा भौतिक सुविधाको दृष्टिले दुर्गम पालिका हो । पालिकामा स्वास्थ्य सेवा दिन तथा स्वास्थ्य सम्बन्धिको जनचेतना जागृत गर्नको लागि संघले एकदिने शिविर सञ्चालन गरेको कार्यक्रमका संयोजक गजेन्द्र प्रसाद मानन्धरले जनाए ।

काठमाडौं महानगरपालिकाको लागत साझेदारीमा सम्पन्न भएको स्वास्थ्य शिविरलाई संघ अन्तर्गत युवा उपसमिति र स्वास्थ्य उपसमितिले संयोजन गरेको थियो । शिविरमा सहभागी भएका लाभग्राहीहरुले दुई घण्टा हिंडेरै पनि स्वास्थ्य चेकजाँच गराएको श्री मानन्धर सेवा समाजमा अध्यक्ष चक्र बहादुर मानन्धरले जनाए ।

शिविरमा ४५४ जना बिरामीहरुले नाम दर्ता गराएर सेवा लिएको उहाँले जनाए । अधिकांस सेवाग्राही बिरामी मध्ये एकैजनाले आँखा, दाँत तथा जनरल फिजिसियन सेवा लिएका थिए । बिहान ८ बजेदेखि नाम दर्ता सुरु गरिएको शिविर बेलुकी ७ बजे सकिएको थियो । स्वास्थ्य शिविर कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङ, सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट, सुनापति गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धर तथा गाउँपालिकाका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।