कृषिमा आधुनिक प्रणाली चाहन्छन् पाँचखालका किसान

कृषिमा आधुनिक प्रणाली चाहन्छन् पाँचखालका किसान

काभ्रेपलाञ्चोक, २३ जेठ :

खाद्यान्न तथा तरकारी उत्पादनमा प्रख्यात काभ्रेपलाञ्चोकको पाँचखाल नगरका किसान कृषिमा आधुनिक प्रणाली चाहन्छन् । उनीहरुले परम्परागत रुपमा गरिने खेती प्रणालीलाई विस्थापित गर्दै कृषिमा आधुनिकीकरणसँगै नयाँनयाँ बीउविजनसमेत उपलब्ध हुनुपर्ने बताउँदै आएका छन् । विभिन्न पक्षले पाँचखालको कृषिलाई आधुनिकीकरण गरिने जनाउँदै आइए पनि यहाँको खेतीप्रणालीमा कुनै सुधार नभएको पाँचखाल –६ का किसान केदार ढुङ्गानाको दुःखेसो छ । उहाँ भन्नुहुन्छ , “पुरानै खेतीप्रणालीले उत्पादन वृद्धि गर्न सकिरहेका छैनौँ, पर्याप्त रासायनिक मल उपलब्धतासँगै कृषिमा आधुनिकीकरणको आवश्यकता भइसक्यो ।” खेतीबालीका विषादी कम गर्दै लगिए पनि सबै किसानलाई जैविक विषादीतर्फ उन्मुख गराउनुपर्ने उहाँको भनाइ छ ।

करिब ७० प्रतिशत उत्पादनशील क्षेत्र रहेको पाँचखालमा हालसम्म पुरानै शैलीमा मौसमी आलु, गोलभेडालगायत तरकारी तथा धान, मकैलगायत खाद्यान्न उत्पादन हुँदै आएको छ । ‘पाँचखाल नगर–कृषि सहर’का रुपमा परिचित गराउन नगरले ‘हरसम्भव प्रयासरत’ रहेको जनाउँदै आएको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै नगरले तीन वर्षअघि सम्झौता गरेअनुसार इजरायली नयाँ प्रविधिमा लगिने आशामा रहेको तर सम्झौतामै सीमित रहेकोमा स्थानीय दुःख व्यक्त गरिरहेका छन् । “यहाँको कृषि इजरायली प्रविधिमा लैजाने भनेर तीन वर्षअघि नेपालस्थित इरजायली दूतावास र पाँचखाल नगरबीच सहमति भएको थियो, त्यतिबेला हामी पनि उत्साहित भयौँ तर सम्झौतामै सीमित रह्यो”, पाँचखाल–३ का किसान ज्ञानबहादुर थापाले भन्नुभयो । उहाँ कृषिमा आधुनिकीकरणले उत्पादन बढेको सुनिरहेका छौँ भन्नुहुन्छ ।

“पछिल्ला वर्ष बाली उत्पादन लागत बढ्दै गएको छ, यसअनुसार उत्पादन बढाउन कृषिलाई आधुनिकीकरण गर्न जरुरी भइसक्यो”, उहाँले भन्नुभयो । उहाँले यसको अगुवाइ नगरले गर्नुपर्ने उहाँको धारणा छ । सहमतिमा पाँचखालका किसानलाई परम्परागत खेतीप्रणालीलाई रुपान्तरण गर्दै आधुनिक खेतीप्रणालीमा लैजाने तथा नगदी बालीलाई विशेष प्राथमिकता दिई किसानको जीवनस्तर सुधार गर्दै जाने विषयलाई अघि सारिएको थियो । कृषिलाई आधुनिकीकरणका नाममा नगरद्वारा किसानलाई आधा प्रतिशत अनुदानमा हाते ट्याक्टर र मौरीघार वितरण बाहेकका उदाहरणीय काम भएको पाइदैन ।

नगरप्रमुख महेश खरेल यहाँको कृषिलाई आधुनिकीकरण गर्न विभिन्न निकाय एवं सङ्घ संस्थासँग समन्वय र सहकार्य गर्न नगर सदैव तयार रहेको बताउनुहुन्छ । यसअघिका केही सम्झौता विविध कारण अघि बढाउन नसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार उद्योगमा क्षेत्रमा केही योजना निर्माणाधीन अवस्थामा रहेका छन् । इजरायली प्रविधि भित्र्याउने सहमतिपछि नगरका जनप्रतिनिधिले चासो नदिँदा सहमतिमै सीमित भएको पाँचखाल–४ का किसान रामचन्द्र श्रेष्ठले बताउनुहुन्छ । कृषिमा इजरायली प्रविधि, ज्ञान–सीप विश्वमै उत्कृष्ट मानिन्छ । उक्त प्रविधिलाई कृषियोग्य पाँचखालको भूमिमा प्रयोग गर्नसके यहाँ उत्पादन भएका गुणस्तरीय तरकारी तथा फलफूल अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने अपेक्षा गरिएको थियो ।

नगरले आफ्नो बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । तर, पर्याप्त सिँचाइको अभावमा अपेक्षित उत्पादन हुन सकिरहेको छैन । केही वर्षदेखि लगानी भित्र्याउने तीव्र चाहना बोकेको नगरले ४० बढी उद्योग स्थापना गर्ने योजना अघि सारेको थियो । तर, आर्थिक वर्ष २०७६÷७७ को अन्त्यतिर लगानी सम्मेलनको तयारीमा जुटेलगत्तै कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो । गत आर्थिक वर्षमा गर्ने बताइए पनि कुनै औपचारिक योजना भने बनाइएको छैन । “लगानी सम्मेलन गर्ने योजना बनाउने चाहना छ, आउँदो आवमा गर्न सकिन्छ” नगर खरेलले भन्नुभयो । लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजनाको खोजी गर्दै कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको जनाइयो ।

पाँचखालमा ४० उद्योग स्थापना गर्नसके स्थानीयस्तरमा खाद्यान्नलगायत उत्पादनसँगै करिव चार हजार स्थानीयवासीले रोजगारी पाउने छन् । उद्योग स्थापनाका लागि नगरले स्थानीयवासीलाई नै प्राथमिकतामा राख्ने नगरको योजना थियो । “उद्योग स्थापनार्थ स्थानीयवासीलाई प्राथमिकता दिँदै सरल कर्जाका लागि वित्तीय संस्थासँग समन्वय गर्नेछौँ” खरेलले भन्नुहुन्छ । पाँचखाल नगरमा सघन सहरी विकास कार्यक्रमका लागि बजेट विनियोजन भए पनि योजनालाई अघि बढाइएको छैन । सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ विसं २०७८ फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रम लागू गर्न रु पचास करोड बजेट विनियोजन गरेको थियो ।

‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्धक बनाउन नगरले यसअघिनै पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । नगरले वर्षौँदेखि खेतीयोग्य जमिन जोगाएर मानवबस्ती तथा औद्योगिक ग्राम स्थापना गर्ने जनाए पनि अपेक्षित काम हुन नसकेको बताइन्छ । पाँचखालमा केही राष्ट्रिय योजनाअन्तर्गत विशेष आर्थिक क्षेत्र (सेज)का भौतिक निर्माण भइरहेको भने मदन भण्डारी विश्वविद्यालयका लागि जमिन स्वामित्वमा लगिएको, वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको छ ।

 राजकुमार पराजुली / रासस