बिहीबार २४ माघ, २०८१

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, जेठ ३२

पर्साको वीरगंज महानगरपालिका–१५ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ सय २ ग्रामसहित भारत मोतिहारी ग्राम लालाछापरा–१ बस्ने २५ वर्षीय महमद नेजामुदीनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले बाराबाट वीरगंजतर्फ जाँदै गरेको बिआर ०५ एवाई १३४६ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक महमदलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ८० मिलिग्रामसहित इलाम चुलाचुली गाउँपालिका–३ बस्ने ३० वर्षीय बिनोद ढुंगेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीटंकीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय सन्जित रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली गोदावरी नगरपालिका–३ चौकिडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम र माटोजस्तो देखिेने धुलो पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका–६ मझगैई बस्ने २५ वर्षीय आषिस चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

मोरङको सुनवर्षी नगरपालिका–९ डाईनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार अररिया, पोखरिया पञ्चायत–३ बस्ने १९ वर्षीय राहुल राजा र मोरङ सुनबर्षी नगरपालिका–९ बस्ने २४ वर्षीय आदर्श दास रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–११ बानडाँडा बस्ने २२ वर्षीया आयुषा राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–२ बागेश्व री मन्दिर परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित भारत बहराईच बस्ने १८-१८ वर्षीय २ जना किशोरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट संयक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

चितवनको भरतपुर महानगरपालिका–४ अनुपम टोल डेरा गरी बस्ने सोही महानगरपालिका–१० घर भएका २७ वर्षीय बाबु भन्ने सुशील लामालाई उनकै डेराकोठाबाट अवैध लागूऔषध गाँजा १२ किलोसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ नयाँबस्तीस्थित सडकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पर्दाथ ४ ग्राम ८ सय मिलिग्रामसहित बाँसगढी नगरपालिका–९ माछगढ बस्ने २२ वर्षीय खडक बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।