सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, जेठ ३२ 

सुनसरी, कोशी गाउँपालिका–३ नहरचोकस्थित सडकमा ईनरूवाबाट भण्टाबारीतर्फ जाँदै गरेको को.२ ख ६०५९ नम्बरको ट्रकले को.२ त १२४३ नम्बरको ट्याक्टरलाई बिहीबार दिउँसो ठक्कर दिँदा ट्याक्टरमा सवार कोशी गाउँपालिका–२ बस्ने २० वर्षीय राज कुमार यादवको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

बाँके, राप्ती सोनारी गाउँपालिका–९ चितवन पेट्रोल पम्पस्थित सडकमा भे.१ ख ३०१९ नम्बरको टिपर र भे.११ प १४१३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका–८ बस्ने ३५ वर्षीय लोक बहादुर बिष्टको घटनास्थलमै मृत्यु भएको छ । सोही विषयलाई लिएर स्थानीय बासिन्दाले टिपरमा आगजनी गर्दा टिपर पूर्ण रूपमा जलेर क्षति भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।