सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता भोलिदेखि गोकर्णमा, १५ लाख ५० हजार नगद पुरस्कारको लागि ३७ प्रो र ११ एमेच्योर गल्फरको दाबेदारी रहने
काठमाडौं, असार ३
सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म हुनेछ । कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन। यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। कुल २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन ।
पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने जानकारी आज आयोजित पत्रकार सम्मेलनमा पीजीए नेपालका महासचिव दिपक आचार्यले दिए । दुई दिनको खेल पश्चात कट लागु हुनेछ । ३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने प्रोफेसनल खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन। एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ ।
यो सिजनको अन्तिम प्रतियोगिता पश्चात सिजन अवधिभर कूल पुरस्कार रकम प्राप्त गरेको आधारमा नम्बर एक गल्फरको होडमा अहिले भुवन नगरकोटी सबैभन्दा अगाडि रहेका छन । उनी धरानका निरज तामाङ भन्दा १ लाख १८ हजार ८ सय ७५ रूपैयाँले अगाडि छन । भुवनले यो सिजनको सात प्रतियोगिता सकिंदा ५ लाख ६६ हजार ८ सय ७५ नगद पुरस्कार कमाएका छन । उनले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए ।
निरज तामाङ ४ लाख ४८ हजार सहित मनि लिडर तालिकामा दोस्रो स्थानमा छन । उनले यो सिजन सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए । सूर्य नेपाल म्याच प्ले जितेका दिनेश प्रजापति ३ लाख ७२ हजार सहित तेस्रो स्थानमा छन । सूर्य नेपाल च्यालेन्ज जितेका रवि खड्का ३ लाख ७२ हजार सहित चौथो र २ लाख ६० हजार ७ सय २५ नगद सहित सञ्जय लामा पाँचौ स्थानमा रहेका छन ।
मनि लिडरहरूलाई डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले चुनौती प्रस्तुत गर्ने संभावना उच्च छ । एमेच्योर गल्फर रहँदा सुबाशले कुल पाँच उपाधि जितेका छन । यो सिजन प्रो बनेपछि उनको यो घरेलु टुरमा दोस्रो प्रतियोगिता हो । यो सिजन सात मध्ये दुई प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसीप जितेका एमेच्योर गल्फर सदभाव आचार्य पनि प्रमुख दाबेदार हुन । उनले यो सिजन सात प्रतियोगिताको समाप्तीमा कुनै पनि प्रोले भन्दा बढी उपाधि जितेका छन ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको प्रो–एम शनिबार हुनेछ । २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ । पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो सिजनकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने भन्दै जितको लागि शुभकामना दिएका छन । उनले प्रमुख प्रायोजक सुर्य नेपाल प्रालिलाई नेपाली गल्फ विकासमा निरन्तरको सहयोगका लागि धन्यवाद दिए ।