हाइकिङसँग जोडिदै गर्लाङ सामुदायिक घरबास

हाइकिङसँग जोडिदै गर्लाङ सामुदायिक घरबास

गण्डकी, ३१ असार :

पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवर्द्धनको प्रयास थालिएको छ । पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ । प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवर्द्धन गरिरहेको क्लबले यस शृङ्खलालाई गर्लाङमा पुु-याएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुुभयो । “हाइकर्स क्बल नेपालले पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिरहेको छ”, उहाँले भन्नुुभयो, “पोखरामा रही विभिन्न सेवा, पेसा र व्यवसायमा आवद्ध व्यक्तिलाई हामीले हाइकिङका माध्यमबाट पर्यटकीय गन्तव्यमा पुु-याउने गरेका छौंँ ।

” विभिन्न उमेर समूहका व्यक्ति एकसाथ हाइकिङमा सहभागी हुने गरेको बताउँदै उहाँले हरेक गन्तव्यमा पर्यटकीय प्रवर्द्धन भइरहेको बताउनुुभयो । प्रकृति र संस्कृतिले सम्पन्न गर्लाङ गाउँमाथिबाट देखिने दृश्यले जो कोही लोभिने बताउँदै उहाँले हरिपाउबाट पोखरा बजार नेपालको झण्डा आकारमा देख्न सकिने जानकारी दिनुुभयो । गर्लाङमा कोरोना महामारी पूर्व घरबास सञ्चालनमा आएको थियो । लगत्तै भएको बन्दाबन्दी (लकडाउन) पछि घरबासले अपेक्षित गति लिन सकेको थिएन । पछिल्लो समय विस्तारै आकर्षण बढ्न थालेको गर्लाङ सामुदायिक होमस्टेका सदस्य चन्द्रा गुरुङले बताउनुुभयो । उहाँका अनुसार यहाँका पाँचवटा घरमा घरबास सञ्चालनमा छन् । हरेक दिन २० देखि २५ जनासम्म पाहुनालाई घरबासमा राख्न सकिने उहाँको भनाइ छ ।

गर्लाङ आउने पर्यटकले स्थानीय स्वादका खानासँगै प्रकृति र संस्कृतिमा रमाउन पाउने गुरुङले बताउनुभयो । यहाँबाट हिमशृङ्खलासहित पोखराको दृश्यावलोकन गर्न गाउँमाथि रहेको झुुप्राङकोट उपयुक्त गन्तव्य मानिन्छ । जोगिमणिबाट करिब एक घण्टा पैदलबाट देवीथान, जैमुरे, भूतेदेवी थान, विमरे हुँदै गर्लाङ पुुग्न सकिन्छ । त्यस्तै ढिँकीडाँडाबाट थुम सम्म सवारीमा पुगेर थोरै पैदल हिँडेर पनि गर्लाङ पुुग्न सकिन्छ । पोखरा महानगरपालिका–१६ का पर्यटकीय गन्तव्यमध्ये गर्लाङ एक भएको वडा सदस्य रामचन्द्र आचार्य बताउनुुहुन्छ । “हाइकर्स क्लबले आयोजना गरेको हाइकिङले यहाँको पर्यटन प्रवर्द्धन हुने हाम्रो विश्वास छ”, उहाँले भन्नुुभयो, “यस किसिमका प्रवर्द्धनात्मक गतिविधिले पछि परेका गन्तव्यको प्रवर्द्धन र विकास हुन्छ ।

” स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ गरिँदै आएको क्लबका उपाध्यक्ष ज्योति हमालले बताउनुभयो । पोखराबाट नजिक रहेर प्रचारप्रसार नभएको होमस्टेको प्रचार गर्न गर्लाङ सामुदायिक होमस्टे छनोट गरिएको उहाँले जानकारी दिनुुभयो । क्लबका कोषाध्यक्ष टीका आचार्यले हाइकर्स क्बल नेपालले सदस्यता वृद्धि अभियान थालेको बताउनुुभयो । उहाँका अनुसार क्लबको साधारण सदस्यका लागि पाँच सय र आजीवन सदस्यको लागि तीन हजार लिने गरिएको छ । हाइकिङमा सहभागी हुन क्लबको सदस्य नहुनेले पनि पाउने उहाँले बताउनुभयो । सदस्यता नलिएका सहभागीका हकमा अतिरिक्त ५० रुपैया थप बुझाउनु् पर्ने निर्णय क्लबले गरेको छ । पोखरा र आसपासमा विगत छ वर्षदेखि नियमित सञ्चालित हाइकिङमा हालसम्म १० देखि ७६ वर्ष उमेर समूहका नेपाली तथा विदेशी नागरिकसमेत गरी हजारौँ सहभागी भइसकेका छन् । क्लबका सचिव मधु अधिकारीले हाइकिङका माध्यमबाट हरेक शृङ्खलामा नयाँ गन्तव्यको प्रवर्द्धन गरिँदै आएको बताउनुुभयो । 

राष्ट्रिय समाचार समिति(रासस)