सुन्तला बगैँचा व्यवस्थापनबापत् किसानलाई अनुदान

सुन्तला बगैँचा व्यवस्थापनबापत् किसानलाई अनुदान

गण्डकी, ३१ असार :

पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रमअन्तर्गत रु २५ लाख अनुुदान उपलब्ध गराएको छ । सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुई सय ८० किसानलाई अनुदान उपलब्ध गराइएको हो ।

महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम् एक सय ५० का दरले १९ हजार छ सय ५२ बोटका लागि अनुदान वितरण गरेको उहाँले जानकारी दिनुुभयो । अनुदान प्राप्त गर्न प्रत्येक बोटमा एक सय किलो प्राङ्गारिक मल अनिवार्य हाल्न रु ५० , बोडो पेष्ट गरेबापत् रु ४०, बोडो मिक्सचर स्प्रेबापत् रु ३० र बोटको वरपर बाक्लो छापो लगाएबापत् रु ३० गरी रु एक सय ५० प्रदान गरिएको हो ।

किसानबाट प्राप्त निवेदनका आधारमा मापदण्ड निर्धारण बनाइ उक्त मापदण्ड पूरा गरे नगरेको महानगरपालिकाको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी अनुदान वितरण गरिएको कडरियाले जानकारी दिनुुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले उत्पादनमा जोड दिँदै किसानलाई अनुदानमार्फत सहयोग गर्दै आएको जानकारी दिनुुभयो । सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१/०८२ मा महानगरपालिकाले ७० प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस)