द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छः ढकाल

द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छः ढकाल

काठमाडौं, साउन १४


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको लामो समयदेखिको सम्बन्धलाई औंल्याउदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् ।


नयाँ दिल्लीस्तिथ थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटमा ढकालले नेपाल र थाइल्यान्डबीचको मित्रता र सहकार्यको लामो इतिहास रहेको र व्यापारिक सम्बन्धहरूले यस दिगो सम्बन्धलाई प्रमाणित गरेको बताए । ढकालले विगत वर्षदेखि नेपाल र थाइल्याण्डबीचको व्यापारको मात्रामा निरन्तर वृद्धि भएको र सन् २०२३ मा द्विपक्षीय व्यापार करिब १५ करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै यसले दुवै राष्ट्रका लागि सम्भावना र अवसरहरूको सङ्केत गरेको बताए ।


ढकालले नेपाल र थाइल्यान्डबीचको सहकार्य अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा जोड दिएका थिए । उनले नेपाल चिया, कफी र जडिबुटी जस्ता उच्च गुणस्तरका कृषि उत्पादनमा धनी भएको र थाइल्यान्डको उन्नत खाद्य प्रशोधन प्रविधिको सदुपयोग गरेर यी उत्पादनलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउन सक्ने बताए । ढकालले नेपाल र थाइल्यान्ड दुवै देशका आ–आफ्ना छुट्टै र विविधतायुक्त पर्यटकीयस्थलका लागि प्रख्यात भएकाले दुवै देशले संयुक्त बजारीकरण अभियान र दुवै देशका गन्तव्यलाई समेट्ने पर्यटन प्याकेजको विकास गरी थप पर्यटक भित्र्याउन र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सकिने बताए ।


भेटमा सुचिरा पञ्चनाले थाइ ट्रेड सेन्टरले आगामी वर्ष नेपालमा व्यापार मेला तथा गोष्ठी गर्ने योजना रहेको बताइन् । उनले व्यापार मेला तथा गोष्ठी आयोजना गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग सहयोगको अपेक्षा रहेको बताईन ।