नेवाद्वारा बागलुङमा दुई वर्षमा एक हजार आठ सय १५ धारा जडान

नेवाद्वारा बागलुङमा दुई वर्षमा एक हजार आठ सय १५ धारा जडान

ढोरपाटन (बागलुङ), १६ साउन :

नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो । खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो ।

नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई तीव्रगतिमा अघि बढाएको छ । नेवाको सहयोगमा १९ हजार एक सय १८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन् । आर्थिक वर्ष २०७९÷०८० मा नेवाले जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका जैमिनी नगरपालिकाको ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो । तीस वटा आयोजना सम्पन्न गर्न नेवाले रु छ करोड २० लाख पाँच हजार सात सय २५, पालिकाहरुको रु एक करोड ६४ लाख ९५ हजार नौ सय १४, उपभोक्ताबाट रु ३४ लाख ८३ हजार पाँच सय १२ र रु दुई करोड पाँच लाख १२ हजार तीन सय १२ बराबरको श्रमदान भएको थियो । 

राष्ट्रिय समाचार समिति (रासस)