सञ्चालक डा. घिमिरेद्वारा प्रधानन्यायाधीश समक्ष शपथ

सञ्चालक डा. घिमिरेद्वारा प्रधानन्यायाधीश समक्ष शपथ

काठमाडौं, साउन १७


अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । 


सर्वोच्च अदालतमा बिहिबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उहाँलाई पद तथा गोपनीयताको शथप गराएका हुन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । 


शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाशीश प्रकाशमान सिंह राउत, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार विमल पौडेल, सह–रजिष्ट्रारहरू मानबहादुर कार्की, अर्जुनप्रसाद कोइराला र अच्युत कुइँकेल, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा लगायतका अधिकारीहरूको उपस्थिति थियो ।