पहिरोले बगाएको सिँचाइ नहर मर्मत

पहिरोले बगाएको सिँचाइ नहर मर्मत

कास्की, २२ साउनः

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला र पोखरा महागनरपालिका–१९ पुरुनचौरको मुख्य सिँचाइ नहर सञ्चालनमा आएको छ । गत असार १७ गते राति पहिरोले क्षति पुगेको सिँचाइ नहर पुनःनिर्माणपछि सोमबार ३५ दिनपछि सञ्चालनमा ल्याइएको हो । सार्दिखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर पुरुनचौरको स्थानीपातल तथा सार्दिखोलाका विभिन्न आठ स्थानमा पहिरोले क्षति पुर्याएको थियो । धान रोप्ने बेलामा सिँचाइ नहर पहिरोले बगाएपछि किसानले आकाशको पानीमा निर्भर रहेर दुःखका साथ रोपाइँ गरेका थिए । धान रोपाइँ गरे पनि रोपेको धान मर्न थालेपछि किसान चिन्तित बनेका थिए ।

रोपेको धानमा पानी अभावमा सिँचाइ हुनसकेको थिएन । सिँचाइ आयोजनाबाट सार्दिखोलाको एक सय र पुरुनचौरका तीन सय ५० हेक्टर जमिन सिँचाइ हुँदै आएको छ । पुरुनचौरका स्थानीय अगुवा दीपक पौडेलले स्थानीयवासीको अथक प्रयासपछि सिँचाइ नहर सञ्चालनमा आएको बताउनुभयो । मेसिन र मौसमका कारणले नहर सञ्चालमा ढिलाइ भएको पौडेलले बताउनुभयो । नहर सञ्चालन भएर खेतमा पानी लगाउन पाएपछि किसानमा खुसीयाली छाएको छ । सो नहरको पानी सार्दिखोला र पुरुनचौरमा साँझ–बिहान पालो लगाएर खेतमा लगाउने गरिएको छ । पौडेलले नहर पुनःनिर्माणका लागि रु १५ लाख खर्च भएको बताउनुभयो ।

नहर पहिरोले बगाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले स्थलगत निरीक्षण गरी किसानलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । “प्रदेश सरकार र महानगरबाट नहर पुनःनिर्माणका लागि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । अहिले हामी आफैँ उपभोक्ताले केही रकम सङ्कलन गरेर काम सम्पन्न गरेका छौँ । अब नहर सञ्चालन भएको छ, सरकारले दिने भनेको पैसाका लागि प्रक्रिया अघि बढाउँछौँ”, पौडेलले भन्नुभयो । सार्दिखोला पुरुनचौर सिँचाइ विसं २०५२ मा निर्माण गरिएको हो । माछापुच्छ«े –२ सार्दिखोलाको पानी पाँच किमी लामो नहरमार्फत ल्याएर पुरुनचौर र सार्दिखोलाको भुर्जुङखोलाको जमिनमा सिँचाइ गरिँदै आइएको छ । 

राष्ट्रिय समाचार समिति (रासस)