नेप्सेमा हरियाली, नेप्से बढ्दा कारोबार रकम भने घट्यो

नेप्सेमा हरियाली,  नेप्से बढ्दा कारोबार रकम भने घट्यो

काठमाडौं, साउन २३

नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार भने एक सय आठ दशमलव ३५ अंकले बढेर २७ सय ५९ दशमलव ६७ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव ९० अंकले बढेर चार सय ८३ दशमलव ४६ अंकमा चढेको छ । तीन सय ३० वटा कम्पनीहरुको दुई लाख १२ हजार छ सय ८१ पटकको कारोबारमा तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम १७ अर्ब ९५ करोड नौं लाख १८ हजार छ सय २७ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।

नेप्सेमा आज बोर्टलस नेपाल (बालाजु) लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने एनआईसी एशिया डिवेञ्चर २०८३÷०८४ ले सबैभन्दा बढी गुमाएको छ ।  हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।