हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाट रोक्न बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियाको आग्रह

हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाट रोक्न बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियाको आग्रह

ढाका, २३ साउन (रासस/एएनआई) :

पूर्वप्रधानमन्त्री खालिदा जियाले सरकारी जागिरमा भेदभाव विरोधी विद्यार्थी आन्दोलनले निम्त्याएको राष्ट्रव्यापी हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाटबारे चिन्ता व्यक्त गर्नुभएको बङ्गलादेशको सञ्चारमाध्यम ढाका ट्रिब्युनले बताएको छ । ढाकाको ‘एभरकेयर’ अस्पतालमा रहनुुभएका जियासँग बङ्गलादेश खिलाफत मजलिस पार्टीका महासचिव मौलाना मामुनुलको टोलीले भेटवार्ता गर्नुभएको ढाका ट्रिब्युनले जनाएको छ ।

ढाका ट्रिब्युनले जियालाई उद्धृत गर्दै भनेको छ, “हाम्रो राज्यको स्रोत र साधन खेर गइरहेको छ । यो देश हाम्रो हो, हामीले यो देशको निर्माण गर्नुपर्छ ।” अगस्ट छ मा बङ्गलादेशका राष्ट्रपति शाहाबुद्दिन अहमदले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई संविधानको धारा ४९ अनुसार जेल सजाय कम गरेर रिहा गर्ने घोषणा गर्नुभएको थियो ।

ढाका ट्रिब्युनका अनुसार भेटवार्तामा उहाँले जनताको जीवन र सम्पत्तिमा क्षति पु¥याउनु गम्भीर अपराध भएको बताउनुभयो । उहाँले राज्यको स्रोतको लुटपाटमा धेरै मानिसहरू संलग्न रहेको र यो कार्य अन्यायपूर्ण रहेको बताउनुभयो । ‘बेगम खालिदा जिया उत्पीडित महिला हुनुहुन्छ । हामी लामो समयसम्म जेलमा बस्यौं । मौलाना मामुनुल हक पनि लामो समयसम्म जेलमा रहनुभयो । मौलाना मामुनुल हकको नेतृत्वमा हामी उहाँको स्वास्थ्यबारे सोधपुछ गर्न अस्पताल गयौँ ।” खिलाफत मजलिसका उप–महासचिव मौलाना अताउल्ला अमिनले जियासँगको भेटबारे बताउनुभयो ।

बैठकबारे सोधिएको प्रश्नमा खिलाफत मजलिसका संयुक्त महासचिव मौलाना अताउल्ला अमिनले भन्नुभयो, “देशको अवस्था राम्रो छैन । बेगम खालिदा जिया मानव जीवन र सम्पत्तिको क्षतिबारे चिन्तित हुनुहुन्छ । राज्यका स्रोतहरू लुटिनु सही काम होइन ।” अगस्ट ५ मा बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले खालिदा जियालाई रिहा गर्ने आदेश जारी गर्नुभएको थियो । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि उहाँले यो निर्णयको घोषणा गर्नुभएको हो । बङ्गलादेशका पूर्व प्रधानमन्त्री जियाको स्वास्थ्य अवस्था खराब छ ।

बाथ रोग, मधुमेह र ‘लिभर सिरोसिस’को बिरामी उहाँ ह्विलचेयर प्रयोग गर्नुहुन्छ । अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो । यसलाई उहाँको पार्टीले राजनीतिक रूपमा प्रेरित भन्दै खण्डन गर्दै आएको छ । राजनीतिमा भाग नलिने र उपचारका लागि विदेश नजाने सर्तमा उहाँलाई घरमै नरबन्दमा राखिएको थियो । जियाविरूद्ध भ्रष्टाचारको आरोप उहाँलाई राजनीतिमा प्रवेश गर्नबाट रोक्नका लागि बनाइएको मुद्दा भएको बिएनपीले दावी गरेको छ । तर हसिना प्रशासनले यो आरोप अस्वीकार गरेको थियो ।