मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं, साउन २५


ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारबाट मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको कमल गाउँपालिका ३ घर भई हाल काठमाडौंको सितापाईला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नविन भट्टराईलाई ललितपुरको बालकुमारीबाट र मकवानपुरको बागमती गाउँपालिका ३ घर भएका २१ वर्षीय प्रेम बहादुर पाख्रिनलाई भक्तपुरको कौशलटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

 


शंकास्पद अवस्थामा फेला परेको प्रदेश २ –०२–०२७ प ४३ २३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल सहित भट्टराई र राईलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुसन्धान गर्दा वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प २५ १३ रहेको मोटरसाइकल पाख्रिनबाट लिएको खुल्न आएको छ । उक्त मोटरसाइकल काठमाडौंको माछापोखरीबाट यही साउन २३ गते हराएको भनि खोजतलासको लागि श्याम लाल लोप्चन तामाङले निवेदन दिएका थिए ।

अनुसन्धान तथा खोजतलासको क्रममा पाख्रिनलाई भक्तपुरको कौशलटारबाट बागमती प्रदेश ०२–०४९ प ०२ ०९ नम्बरको केटिएम डुक मोटरसाकल र लक तोड्न प्रयोग हुने औजार सहित  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकल यही साउन २२ गते भक्तपुरको लोकन्थलीबाट हराएको भनी कैलाश लोक्ताम  लिम्बुले खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वकराज खड्काले जानकारी दिए । 


आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गरेका छन् । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ । 
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।