च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

पर्वत, २७ साउन :

जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उहाँ बताउनुहुन्छ । “च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन”, उहाँले भन्नुभयो ।

गोब्रे च्याउ प्रतिकेजी रु पाँच सय र कन्ये रु दुई सयमा बिक्री हुँदै आएको छ । कच्चा पदार्थसहितका साम्रगी तयार गर्नुभएकी किसान खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया पनि उत्पादन गर्दै आउनुभएको छ । “हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहायोग गर्ने गरेकी छु”, खत्रीले भन्नुभयो ।

श्रीमान्को सहयोगमा उत्पादित सागसब्जी बजार पुऱ्याउने गरेको उहाँले सुनाउनुभयो । जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आर्कषण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । “गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौँ”, उहाँले भन्नुभयो । 

राष्ट्रिय समाचार समिति (रासस)