कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

म्याग्दी, २७ साउनः

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको बर्खामा नयाँ पहिरो सृजना भएको बताउनुभयो ।

“सात–आठ सय मिटरमाथिको भिरपाखो हँुदै सडकमा पहिरो खस्न थालेको छ”, उहाँले भन्नुभयो “पुग्नै नसकिने भिरको पहिरो रोकथाम गर्ने उपाय छैन । ” पानी पर्नेबित्तिकै भिरबाट सडकमा ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खस्छ । शनिबार साँझ पनि त्यहाँ पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

महभिर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब तीन सय मिटर खण्डमा क्षति भएको छ । मुस्ताङ, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ । दुई हप्ताअघि बेनीबाट पोखरेबगर जाँदै गरेको एउटा मोटरसाइकल महभिरको पहिरोमा पुुरिएको थियो । यद्यपि त्यसका चालकले भागर ज्यान जोगाएका थिए । यसैबीच, महभिर, बैसरी, सिरुवारी, गुइठेभिरलगायत स्थानमा पहिरोको जोखिम भएकाले त्यताबाट यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अनुरोध गरेका छन् । 

राष्ट्रिय समाचार समिति (रासस)