होटल व्यवसायीहरुको समस्या समाधान गर्न माग

होटल व्यवसायीहरुको समस्या समाधान गर्न माग

काठमाडौं, साउन २८,


होटल तथा गेस्ट हाउस व्यवसायीले होटल क्षेत्रका समस्यहरु तत्काल समाधान गर्न सरकारसमक्ष आग्रह गरेका छन् । शनिबार सम्पन्न एकता होटल तथा गेस्ट हाउस व्यवसायी संघको १२ औं साधारणसभामा उनीहरूले यस्तो माग गरेका हुन् । अनुगमनका नाममा होटल तथा गेस्ट हाउस व्यवसायीमाथि अनावश्यक दुःख दिंदा व्यवसायीको आत्मसम्मानमा समेत ठेस पुगेको उनीहरूको भनाइ छ । 
 

साधारणसभामा संघका अध्यक्ष सरोज आलेले आर्थिक मन्दीको असरले आफूहरूको व्यवसाय चुनौतीपूर्ण बनेको बताए । ‘देशको पर्यटन प्रवर्द्धनमा हामीले महत्त्वपूर्ण योगदान पु¥याइरहेका छौं । तर, दर्ता प्रक्रिया झन्झटिलो हुँदा व्यवसायीले अनावश्यक दुःख झेल्न बाध्य छन् । स्थानीय तहदेखि केन्द्र सरकारका निकायसम्म दर्ता गर्नुपर्ने झन्झट छ,’ उनले भने । अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै उनले व्यवसायीले सम्मानपूर्वक एवम् व्यवस्थित ढंगले व्यवसाय गर्ने वातावरण तीनै तहका सरकारले बनाउनुपर्ने बताए ।

 
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले व्यवसायीहरूको समस्या समाधान गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले उद्यम–व्यवसाय गर्नेलाई सम्मानको नजरले हेर्नुपर्ने बताए । पर्यटकलाई आकर्षित गर्न समाजलाई समेत सचेत गराउन आवश्यक रहेकोमा पनि उनले जोड दिए । मुख्यमन्त्री लामाले बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरूको पहिचान गरेर त्यसको विकास गर्दै लगिने बताए । 

 

‘बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको छ । अब भने त्यस्तो गल्ती हुँदैन,’ उनले भने, ‘पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरूको निर्माण गरेर उनीहरुलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिनेछ ।’ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा, होटल व्यवसायी महासंघका प्रतिनिधि लगायतले संघलाई शुभकामना दिए । संघमा काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लाका होटल तथा गेस्ट हाउस व्यवसायीहरू आबद्ध छन् ।