रक्षामन्त्रीद्वारा राईद्धारा जङ्गी अड्डाको निरीक्षण भ्रमण

रक्षामन्त्रीद्वारा राईद्धारा जङ्गी अड्डाको निरीक्षण भ्रमण

काठमाडौं, साउन २९,


रक्षामन्त्री मानवीर राईले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । रक्षा मन्त्रीमा नियुक्त भएपश्चात् उहाँले पहिलो पटक सोमबार जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा जानकारी लिएका हुन । जङ्गी अड्डामा आयोजित कार्यक्रममा मन्त्री राई समक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी गराइएको थियो । कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले नवनियुक्त रक्षामन्त्रीज्यूलाई नेपाली सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गरेका थिए । सम्बोधनको क्रममा रक्षामन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पण तथा यस क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको उल्लेख गरे ।

समग्र राष्ट्रको, सेनाप्रतिको भरोसालाई कायमै राख्दै आफूलाई प्राप्त संविधान प्रदत्त जिम्मेवारीहरू एवम् अन्य सबै प्रकारका चुनौतीपूर्ण कार्यहरू निर्वाह गर्न भविष्यमा पनि नेपाली सेना सफल हुनेमा विश्वस्त रहेको बताए । उनले नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गरिरहने कुरा बताउँदै उच्च हौसला सहित कर्तव्यपथमा समर्पित रहिरहन नेपाली सेनाका सकलदर्जालाई आव्हान गरे । उक्त कार्यक्रममा रक्षा सचिव रामेश्वर दङ्गालले नेपाली सेनाको समयसापेक्ष क्षमता विकाश एवम् आधुनिकीकरण, दीर्घकालीन सोच–२०८७ को सफल कार्यान्वयन, विकास निर्माणका कार्यहरूमा सहजीकरणका लागि नेपाली सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेट लगायतका विषयहरूमा सहयोग एवम् सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराए । 

धन्यवाद मन्तव्य व्यक्त गर्नु हुँदै कायममुकायम प्रधान सेनापति रथी सिग्देलले गौरवशाली संस्थाको परम्परा अनुरूप सङ्गठनलाई अगाडि बढाउन अग्रजहरूको अथक प्रयासबाट स्थापित नेपाली सेनाका मूल्य र मान्यतालाई अझ मजबुत र संस्थागत गर्ने तर्फ आफ्नो निरन्तर पहल रहने बताए । उनले नेपाली सेनाको अपरेशनल क्षमता थप अभिवृद्धि गर्न रक्षा मन्त्रालयबाट प्राप्त साथ, सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत रक्षा मन्त्रालय तथा नेपाली सेनाबिचको सम्बन्ध थप प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गरे । कार्यक्रमको आरम्भमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत मन्तव्य दिएका थिए । त्यस अवसरमा रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।