प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २९ साउन :

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नेपालको सङ्घीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरुको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरुको प्राप्तिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न क्रियाशील रहेकोे बताउनुभयो । उहाँले दुई ठूला दलबीचको सहकार्यमा सरकार गठन भएकाले यसप्रति जनताले राखेका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

राजदूत फेनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र सङ्घीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग जारी रहने बताउनुभयो । उहाँले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातमा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)