नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा मानव बेचबिखन अनुसन्धान ब्युरोद्वारा छापा

नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा मानव बेचबिखन अनुसन्धान ब्युरोद्वारा छापा


काठमाडौँ, भदौ  ५

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँको अनामनगरस्थित नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा आज छापा मारेको छ । 

आज दिउँसो ब्यूरोको टोलीले सङ्घको कार्यालयमा छापा मारी केही कागजात तथा कम्प्युटरको ‘हाडडिक्स’ बरामद गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “तीनदेखि सङ्घको कार्यालय बन्द थियो, आज खुलेपछि हाम्रो टोलीले त्यहाँबाट माइनुटबुक, लेटरप्याड र कम्प्युटरको हाडडिक्स बरामद गरी ल्याएका छौँ ।” नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा ब्यूरोले आज छापा मारेको प्रवक्ता मिश्रले बताउनुभयो ।

“नक्कली कागजात बनाएर मानिसलाई देश पठाउने गरेको सूचना पाएका छौँ”, उहाँले भन्नुभयो, “सोही विषयमा छानबिन गर्न आज छापा मारेर सङ्गीत उद्योग सङ्घका पदाधिकारीको रोहबरमा कागजपत्र नियन्त्रणमा लिएका छौँ ।” रासस