तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो

तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो

भरतपुर (चितवन),  भदौ ८  

तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो ।

मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ ।

मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षानिखिल खड्से भरतपुर आउनुभएको थियो । मृतक यात्रुका शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याइएको प्रजिअ यादवले बताउनुभयो । उहाँका अनुसार पशुपतिनाथ दर्शन गर्न जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान तनहुँको आबुखैरेनी नजिकै सडकबाट मस्र्याङ्दी नदीमा खस्दा २७ पर्यटकको मृत्यु भएको हो । मृतकमध्ये १५ महिला, ११ पुरुष  र एकजना चार वर्षीया बालिका रहेकी छन् । घाइते हुनेमा छ पुरुष र १० महिला छन् ।

प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए । घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ । मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका रहेका प्रजिअ यादवले जानकारी दिनुभयो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एसटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिकैबाट मस्र्याङ्दीमा खसेको थियो । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भारत सरकारका राज्यमन्त्री खड्सेलाई भरतपुर विमानस्थलमा भेटी सो घटनाप्रति दुःख व्यक्त गर्नुभएको थियो ।

 बेपत्ता एकको खोजी जारी

बस दुर्घटनामा बेपत्ता एकजनाको खोजी कार्य जारी छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट युपी ५३एफटी७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदेको खोजी जारी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । रासस