रास्वपाद्वारा पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यबाट निष्काशित

रास्वपाद्वारा पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यबाट निष्काशित


काठमाडौँ, भदौ ११

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ ।

पार्टीकोे केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । रास्वापाको केन्द्रीय समितिको आजको बैठकबारे जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले भन्नुभयो, “बैठकले पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टी सदस्य मुकुल ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको छ ।”

केन्द्रीय समितिकोे यसअघिको बैठकले केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधानअनुसार अन्तिमपटक स्पष्टीकरणको मौका दिएको थियो ।

आजको बैठकमा आगामी असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । प्रतिनिधि रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वंयसेवक व्यवस्थापन, क्याटरिङ व्यवस्थापन, अडियो भिजुअल, स्वास्थ्य क्लिनिक, बुथ व्यवस्थापनलगायत विभिन्न १४ वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टीले तयार गरेको स्थानीय छायाँ सरकार सञ्चालन कार्यविधि, २०८१ को मस्यौदा प्रस्तुत गरेको थियो । केन्द्रीय समितिले उक्त मस्यौदामा थप सुझाव लिने निर्णयसमेत गरेको छ ।