भारतमा विषाक्त खानाबाट १३० जना अस्पताल भर्ना

भारतमा विषाक्त खानाबाट १३० जना अस्पताल भर्ना


  नयाँदिल्ली, भदौ १२

गहुँको पिठोले बनेको पकौडा खाँदा महिला र बालबालिकासहित करिब १३० जना बिरामी परेका र पछि उनीहरूलाई खानामा विषाक्तताका कारण अस्पताल भर्ना गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

मथुरा जिल्लाको फराह सहरमा हिन्दू धर्मावलम्बीहरूको पर्व जन्माष्टमीको अवसरमा सोमबार राति मानिसहरूले पकौडा खाएका थिए । 

अधिकारीहरूका अनुसार पीडितहरूमा पकौडा खाएपछि चक्कर लाग्ने र काँप्ने जस्ता लक्षणहरु देखा परेको थियो । “हाल सबै बिरामीको अवस्था स्थिर छ”, मथुरा जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमार सिंहले भन्नुभयो ।

गहुँको पिठो कुन स्रोतबाट किनेको हो भन्ने पत्ता लगाउन टोली गठन गरिएको छ । टोलीलाई छापा मार्ने र आपूर्तिकर्ताहरूको पसल सिल गर्न निर्देशन दिइएको छ ।   
---