भारतको आर्थिक वृद्धि दर ६.७ प्रतिशत

भारतको आर्थिक वृद्धि दर ६.७ प्रतिशत


 मुम्बई, भदौ १५

जुनमा समाप्त हुने त्रैमासिकमा भारतको आर्थिक वृद्धि घटेर छ दशमलव सात प्रतिशत भएको शुक्रबारको आधिकारिक आँकडाले देखाएको छ । 

कम सरकारी खर्च र कम उपभोक्ता खर्चका कारण विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्र भारतको अर्थतन्त्रमा असर गरेको छ । 

शुक्रबारको आँकडाले अझै पनि विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतलाई विश्वव्यापी स्तरमा सबैभन्दा तीव्ररूपमा वृद्धि हुने प्रमुख अर्थतन्त्रहरूमा राखेको छ । 

यद्यपि यो आँकडा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि अप्रिय खबर हो । उहाँको पार्टीले जुनमा भएको निर्वाचनपछि आश्चर्यजनक रूपमा संसदीय बहुमत गुमाउनुपरेको थियो । 

यसले भारतीय रिजर्व बैंकमाथि ब्याज दरहरूलाई १८ महिनाभन्दा धेरै समयसम्म छ दशमलव पाँच प्रतिशतमा स्थिर राखेपछि कटौती गर्न पनि दबाब दिन सक्छ । 

वार्षिक आधारमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पाँच त्रैमासिकमा सबैभन्दा सुस्त गतिले बढेको छ र भारतीय केन्द्रीय बैंकको सात दशमलव एक प्रतिशतको अनुमानभन्दा तल आएको छ । 

गत वर्ष मार्चमा समाप्त हुने त्रैमासिकमा भारतीय अर्थतन्त्र वार्षिक आधारमा सात दशमलव आठ प्रतिशतसम्म विस्तार भएको थियो । 

सरकारी पूँजीगत खर्चमा सुस्तताका कारण वृद्धिको गति केही हदसम्म सुस्त भएको विशेषज्ञहरूले बताएका छन् । व्यवसायहरूले पसलमा ग्राहकहरूको सङ्ख्या र सहरी उपभोगमा अवरोधका लागि मुलुकका केही भागमा लामो समयसम्म चलेको गर्मीलाई पनि जिम्मेबार मानेका छन् ।  (रासस/एएफपी)
–––