हराएका २२ वटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

हराएका २२ वटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

काठमाडौं, भदौ २६

विभिन्न मितिमा हराएका २२ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १३ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नु भएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्ता निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कोटेश्वर, सुन्दरीजल, नयाँबसपार्क, नेपालटार, तिलेङ्गेटार, जनसेवा, सानेपा, कलंकी, टोखा, सानोठिमी, स्वयम्भु, थानकोट र मैतीदेबी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

आज बुझाइएका २२ वटा सहित ९६ वटा सवारी साधन साउन महिनादेखी आज सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका १२ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १६ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाईका २२ वटा सवारी साधनहरु हराएको भनी  २०८० बैशाख १५ गते देखी २०८१ भदौ २४ गते सम्म निवेदन परेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्वराज खड्काले जानकारी दिनुभयो । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सबैमा अनुरोध गर्नुभएको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।