सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने ८७ मेगावार्टको लान्द्रुक मोदीमा जुट्यो लगानी

सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने ८७ मेगावार्टको लान्द्रुक मोदीमा जुट्यो लगानी


काठमाडौं, भदौ ३१

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तिय व्यवस्थापन सम्पन्न भएको हो । 

आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट बिनित कुमार झा ले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंग्याएका हुन् । १६ अर्व ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रवर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ । 

आयोजनामा ग्लोवल आइ एम इ, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बिनी विकास बैंक समेत सहभागी हुनेछन् । अन्नपूर्ण विद्युत विकास प्रा.लि. द्वारा प्रवर्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत विज्ञहरुका अनुसार यो आयोजना विश्वकै तेस्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाइ भएको आयोजना हो । उक्त आयोजनाको हेडवक्स देखि विद्युत गृहसम्मको वास्तविक उचाई १४ सय १८ मिटर रहेको छ । 

नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाई सबै भन्दा धेरै हो । नेपाल विद्युत प्राधिकरणसँग यस अघि नै विद्युत खरिद सम्झौता पिपिए भइसकेको यो आयोजनामा आगामी कात्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रा.लि. ले जनाएको छ ।