एनआरएनएको कोषमा केसी पक्षको मनपरी

एनआरएनएको कोषमा केसी पक्षको मनपरी

काठमाडौं, असोज २ 

गैरआवासीय नेपाली संघको आरके शर्मा – महेश श्रेष्ठ समूहले संघको कोषमा बद्री केसी समूहले मनपरी गरेको भन्दै कोष दुरुपयोग गर्ने काम तत्काल बन्द गर्न माग गरेको छ ।

सर्वोच्च अदालतको गत  साउनको फैसलाको गलत व्याख्या गर्दै बालुवाटारस्थित सचिवालयमा फर्केका बद्री केसीले संघको खातामा रहेको रकम अनियन्त्रित ढंगले खर्च गरेको शर्मा–श्रेष्ठ समूहको भनाइ छ । संघको ११ औँ महाधिवेशनपछि केसी पक्षले मनपरी गरेको र अहिले फेरि त्यसै गरेको भन्दै त्यस्तो नगर्न चेतावनी दिइएको महासचिव बुद्धि सुवेदीले बताए । मंगलबार भर्चुअल माध्यमबाट बसेको बैठकमा बद्री केसीले सचिवालयबाट गरिरहेको मनपरीविरुद्ध गम्भीर समीक्षा गरिएको उनले बताए । बैठकमा समसामयिक विषयमा छलफल र निर्णय गरिएको जानकारी दिँदै उनले संस्थाभित्रको बेथितिभित्र एकताबद्ध भएर लड्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा बोल्दै उपाध्यक्ष डा केशव पौडेलले सर्वोच्च अदालतको दुई छुट्टाछुट्टै फैसला आए पछि एनआरएनएमा धेरै अन्यौल भएको बताए ।  “त्यसलाई  चिरेर एनआरएनएलाई सहमति, सहकार्य र एकताको बाटोमा हिडाउनका लागि सर्वोच्च अदालतको पूर्ण इजलासबाट  निर्णय गराउन हामी अदालत गएका हौँ,“ डा पौडेलले भने । “मुद्दामामिलाबाट जीत हार जे भए पनि सहमति,सहकार्य र एकता नै यसको अन्तिम विकल्प हो । एकताबद्ध एनआरएनले मात्रै गैरआवासीय नेपाली नागरिकता लगायत एनआरएनसंग सम्बद्ध सम्पूर्ण मुद्दाहरुलाई सम्बोधन गर्न सक्छ,“ उनले भने । 

अर्का उपाध्यक्ष गंगाधर गौतमले आफूहरु वैधानिक तवरले निर्वाचित भएको र सोही माग सहित अदालत गएकाले न्याय मिल्ने विश्वास व्यक्त गरे । यस्तै सचिव लोक दाहालले ’एनआरएनए डे’ मनाउने लगायतका विषयमा धारणा राखेका थिए । उनले संघको कोषमा भइरहेको मनपरी तुरुन्त रोक्न माग गरे । यस्तै टंक गैरेले सर्वोच्चको गत चैत २१ को फैसलाअनुसार पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा १३ जनाको टिमले एकता गराउला भन्ने विश्वास रहेपनि त्यसो नहुने अवस्था रहेकाले अब आफूहरुनै अघि सरेको र अदालतले उपयुक्त निकास दिने विश्वास व्यक्त गरे । त्यस्तै उनले एनसीसीहरु अलमलमा परेको  उल्लेख गर्दै उनीहरुसँग समन्वयको आवश्यकता औँल्याए । ‘संस्था सिध्याउने कि बचाउने भन्ने नै अहिलेको लडाइँ हो,’, उनले भने, ‘ संस्थाको पैसा अन्धाधुन्ध खर्च गरिंदै छ । एनसीसीलाई सक्रिय बनाउनु पनि ठोस योजना बनाएर हामी अघि बढ्नुपर्छ ।’

कोषाध्यक्ष ठाकुर ढुंगानाले संस्थालाई बचाउनु अहिलेको आवश्यकता भएको बताए । सहकोषाध्यक्ष तिलक गैरेले लामो समयपछि बैठक बसेको भन्दै अब सक्रिय ढंगले अघि बढेर संघभित्रको सबै समस्योका हल गरिनुपर्ने बताए । बैठकमा उठेका विषयहरुमाथि प्रष्ट पार्दै अध्यक्ष आरके शर्माले आफूहरु न्यायका लागि लडाइँमा रहेको र छिट्टै अदालतबाट  सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले अक्टोबर १० र ११ तारिख दुई दिन ’एनआरएनए डे’ मनाउने र संघभित्रको बेथितिबारे आफूहरुको धारणा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए । यस्तै उपाध्यक्ष गंगाधर गौतमसँगै अन्य सचिवहरुलाई एनसीसीहरुसँग समन्वय गर्न जिम्मेवारी प्रदान गरिएको छ  ।

सर्वोच्चमा आधिकारिकता माग गर्दै दायर रिटको सुनुवाइ अब असोज ७ गते तय भएको छ  । यसअघि अदालतले सो मुद्दामा कारण देखाउ आदेश जारी गरेर दुबै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो । अध्यक्ष शर्माले आफूहरुको उद्देश्य एकताबद्ध एनआरएनए भएकाले संघका केही स्वार्थी तत्वहरुविरुद्ध आफुहरु लडिरहेको र निकास ननिस्केसम्म लडिरहने बताए । ‘हामी काँधमा आएको जिम्मेवारी छाडेर भाग्दैनौँ । केही व्यक्ति संघको कोष रित्याउन लागिरहेका छन् । त्यसविरुद्ध चुप बस्दैनौँ,’ उनले भने । अदालतबाट मुद्दा टुंगिएपछि एकताबद्ध एनआरएनए बनाउन बाटो खुल्ने पनि उनले विश्वास व्यक्त गरे  ।