कञ्चनपुरको सुन्दर प्यारातालमा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुरको सुन्दर प्यारातालमा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

दोधारा चाँदनी (कञ्चनपुर), २ कात्तिक ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको प्याराताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ताल परिसरमा पर्यटकलाई आकर्षण गर्ने संरचना निर्माण भइरहेका छन् ।

प्यारातालमा पर्यटकको आकर्षणका लागि यहाँका नागरिकले प्याराताल परिसर श्रङ्गार गर्ने काम गरिरहेका छन् । नागरिकहरुले स्वतःस्फूर्त रुपमा ताल परिसरमा विभिन्न प्रकारका कलात्मक आकृति निर्माण गरिरहेको प्याराताल पर्यटन प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए । 

 “तालको जैविक पहिचानलाई उजागर गर्न र पर्यटकलाई आकर्षण गर्न ताल परिसरमा संरचना निर्माण भइरहेका छन् ।” उनले भने, “नागरिकको स्वतःस्फूर्त सहयोगमा ताल परिसरमा सेल्फी प्वाइन्ट, माछाको प्रतिमा, कछुवाको प्रतिमा, दुर्लभ जलचर ओदको प्रतिमा राखिएको छ ।”

उनका अनुसार ताल परिसरमा उक्त प्रतिमा लगायतका संरचना निमार्णका लागि विभिन्न व्यक्तिहरुबाट १६ लाख रुपैँया सङ्कलन भएको थियो । अध्यक्ष बस्नेतले भने, “सामाजिक सञ्जालबाट सुरु भएको अभियानले अहिले ताल परिसर सजाउन देश विदेश करिब १६ लाख आर्थिक स्रोत जुटेको छ ।”

त्यसैगरी ताल परिसरमा सजाउन गोही, मयुरको प्रतिमा, वाटर फाउन्टेन र आगन्तुकको मनोरञ्जनका लागि झुला निर्माण गरिएको छ । “अहिले पनि जरायो र कमलको फूल निमार्णको काम भइरहेको छ ।” उनले भने, “प्यारातालको पर्यटन प्रवद्र्धनमा सबै तहले लाग्न जरुरी छ ।” उनका अनुसार प्यारातालमा पछिल्लो समय धनगढी महेन्द्रनगर लगायतका क्षनेत्रबाट आन्तरिक पर्यटक आउने गरेको बताए । 

मनोरञ्जनका लागि प्याराताल उपयुक्त गन्तव्य भए पनि सरसफाइ र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने प्याराताल अवलोकन गर्न पुगेकाहरु बताउँछन् । “पर्यटकीय हिसाबले ताल महत्वपूर्ण छ यहाँ दुर्लभ जलचर, पक्षीसमेत देख्न पाइन्छ ।” प्याराताल अवलोकनका लागि पुगेका टेकबहादुर विश्वकर्माले भने, “ताल परिसरमा सरसफाइ, तालको संरक्षण र पूर्वाधार विकासमा सरकारले लाग्न जरुरी छ ।”

ताल छेउमै पर्यटन बोर्डको सहयोगमा वनभोजस्थल बनाइएको छ, भने पुनर्वास नगरपालिकाको सहयोगमा पर्यटकको मनोरञ्जनका लागि झुला निर्माण गरिएका छन् ।

“अहिले प्यारातालमा आन्तरिक पर्यटक बढ्न थालेका छन् ।” वडा सदस्य मणिनाथ बोगटीले भने, “तालको संरक्षण र प्रवद्र्धनका लागि पालिकाले काम गरिरहेको छ ।” उनले ताल अवलोकनका लागि पछिल्लो समय दैनिक पाँच सय बढी आन्तरिक पर्यटक प्याराताल पुग्ने गरेको बताए ।  

५० देखि एक सय मिटरसम्मको चौडाइ भएको ६ किलोमिटर लामो यो ताल जैविक विविधताले भरिएको छ ।