धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना, ११ जना घाइते

काठमाडौं, ९ कात्तिक । काठमाडौंबाट चितवनको कुरिनटारतर्फ गइरहेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका छन् ।
घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।