काठमाडौं राममन्दिर क्षेत्रको एक पसलमा आगलागी, चार लाखभन्दा बढीको क्षति
काठमाडौं, १६ कात्तिक । काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको एक पसलमा गएराति आगलागी भएको छ । सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी भएको हो ।
आगलागीबाट चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
रामहिटीको दमकल प्रयोग गरी राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
दीपावली गर्न बालिएको बत्तीबाट आगलागी भएको प्रारम्भिक अनुमान छ । नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले मानिसहरुले घर, पसल र कार्यालयहरू झिलिमिली पारेका थिए । असावधानीका कारणा आगलागी समेत हुने गरेको छ ।