हिरासतमै रहेका रविलाई स्वर्णिमले दिए पुस्तक उपहार

हिरासतमै रहेका रविलाई स्वर्णिमले दिए पुस्तक उपहार

काठमाडौं, १७ कात्तिक । सहकारी अनियमितता प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसंग उपसभापति स्वर्णिम वाग्लेले भेटघाट गरेका छन् ।

शुक्रबार साँझ भएको सो भेटमा उनले लामिछानेलाई ‘एज अफ रिभोल्युसन्स’ पुस्तक उपहार पनि दिएका छन् ।

‘रविजी, तपाईंले आफ्नो असामान्य साहस प्रमाणित गरिसक्नुभएको छ। यो कठिन परिस्थितिलाई पार गर्न तपाईंसँग पर्याप्त दृढता र रणनीतिक धैर्यता होस् भन्ने कामना गर्दछौं। हामी तपाईंसँग छौँ। ‘...सबै कुरा राम्रो हुनेछ।’ पुस्तकमा उनले लेखेका छन् ।

सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको र रविमा मनोबल उच्च रहेको पाएको उक्त भेटपछि वाग्लेले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

‘अर्को तीन वर्ष ओली-राणा-देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ? उहाँको यो प्रश्नको उत्तरमा फरिद जकारियाद्वारा लिखित नयाँ पुस्तक एज अफ रिभोल्यसन्स दिन पाएँ,’ उनले उल्लेख गरेका छन् ।

यसका साथै, वाग्लेले तिहार(छठपछि सुशासनको बृहत् एजेण्डामा नयाँ शक्तिहरू गोलबद्ध हुनपर्ने देखिएको समेत बताएका छन् ।