रवि लामिछानेलाई १३ दिन हिरासतमा राख्न म्याद थप
पोखरा, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आज (आइतबार) जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
२ कात्तिकमा सहकारी अनिमितता प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसहित गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबी राईसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ लिला पछाईंलाई १३ दिनको म्याद थप गरिएको छ ।
सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा र जीबी राईसँग मिलेर अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब अपचलन गरिएको छ । जसमा गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको भन्दै रविसहित छविलाल, जीबी राई, कुमार रम्तेललाई कारबाही गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको थियो । रवि, छविमाथि अहिले अनुसन्धान भइरहेको छ भने कुरा पुर्पक्षका लागि कास्की कारागारमै छन् । जीबी भने अहिलेसम्म फरार छन् ।