रामपुरका तीन सय सात जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण

रामपुर (पाल्पा), २७ कात्तिकः
रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो ।
रामपुरका तीन सय सात जना किसानले अनुदानमा गहुँको बीउ प्राप्त गरेका छन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराएको छ । सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा बीउ उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ । नगरपालिकाको अनुदान सहयोगमा बीउ पाएपछि किसानमा उत्साह थपिएको मथुरा ढकालले बताउनुभयो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा धान, गहुँ, मकैलगायत बीउबिजन वितरण गर्दै आइरहेको छ ।
राष्ट्रिय समाचार समिति (रासस)