प्रधानमन्त्री ओली जुम्लामा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षित समारोह सुरु

प्रधानमन्त्री ओली जुम्लामा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षित समारोह सुरु

जुम्ला, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन आइपुगेका छन् ।

सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुनेछन् ।  

यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुनुभएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले बताए।

उनले भने, “स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।”

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए । दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने  जनाइएको छ  ।