निर्मला पन्त हत्या प्रकरणबारे अर्यालले अन्तर्वार्तामा कुनै पनि विषयमा सत्यता देखिएन: प्रहरी
काठमाडौं, २८ कात्तिक । आफूलाई निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भएको दाबी गर्दै अन्तर्वार्ता दिएका नवराज अर्यालसँग प्रहरीले सोधपुछ गरी उनले भ्रम फैलाउन खोजेको निष्कर्षमा पुगेको छ ।
अर्यालले बताएका विषयहरु घटनास्थलका विषयसँग मेल खाएका छैनन् भने उनले लिएका नामबारे पनि प्रहरीले पहिल्यै अनुसन्धान गरिसकेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
अर्यालले पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिनेक्रममा मोटरसाइकलमा गएका बेला आफूले पन्तमाथि बलात्कार हुँदै गरेको देखेको बताएका थिए ।
प्रहरीले उनकी श्रीमतीलाई समेत सीआईबीमा बोलाएको छ । नक्कली लाइन्सेस भएको खुलेपछि जागिरबाट बाहिरिएपछि श्रीमान् विक्षिप्त हुने गरेको उनले पनि बयान दिएको प्रहरीले जनाएको छ ।
अहिले उनले कसैको उक्साहटमा हो वा अन्य कारणले किन यस्तो दाबी गरे भन्ने विषयमा छानबिन भइरहेको बोगटीले बताए । प्रहरीले यो विषयमा अन्तर्वार्ताकार धमलासँग पनि सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।