स्वर्णलक्ष्मी सहकारी ठगी: कुमार रम्तेललाई काठमाडौं झिकाइयो, रवि र छवि पनि तानिने

स्वर्णलक्ष्मी सहकारी ठगी: कुमार रम्तेललाई काठमाडौं झिकाइयो, रवि र छवि पनि तानिने

काठमाडौं, ३ मंसिर । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका कुमार रम्तेललाई काठमाडौं झिकाइएको छ । गत शनिबार बयानका लागि रम्तेललाई जिल्ला प्रहरी प्रहरी भद्रकाली काठमाडौंले पोखराबाट काठमाडौं ल्याइएको हो ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि रम्तेललाई काठमाडौं ल्याइएको हो ।

प्रहरी स्रोतका अनुसार उनको बयान अन्तिम चरणमा रहेको आजरभोलि नै पोखरा पुनःपठाउने तयारी गरिएको छ । रम्तेल गत २५ भदौमा पक्राउ गरिएका थिए ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष पनि हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए ।

रम्तेलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।  रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाडौं ल्याएर बयान गराइने परिसर स्रोतले बतायो । 

हिजो (आइतबार) काठमाडौं जिल्ला अदालतले रवि र छवीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु गरिएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल मगाएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो । रवि पक्राउ परेपछि सो फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको स्रोतको दाबी छ । 

यसअघि सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् ।

सहकारी ठगी प्रकरणमा ६४५ जना बचतकर्ताले जाहेरी दिएका थिए ।  प्रहरीको प्रारम्भिक अनुमान गरेअनुसार स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको छ ।