प्रधानमन्त्री रोजगार कार्यक्रम निराशाजनक, चार महिनामा ४ सय ५९ जनाले मात्रै रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम निराशाजनक, चार महिनामा ४ सय ५९ जनाले मात्रै रोजगारी

काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ ।

सरकारले पटक–पटक सुधारको घोषणा गरेको भएतापनि यो कार्यक्रमले अपेक्षा गरिएअनुसार रोजगारी सिर्जना गर्न भने सकेको छैन ।

तालिमसहित बेरोजगारलाई न्यूनतम रोजगारी दिने उद्देश्य राखेर १ फागुन २०७५ देखि सुभारम्भ गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन भने कमजोर रहँदै आएको छ । 

चालु आर्थिक वर्षमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यक्रमका लागि ६ अर्ब ९ करोड ४५ लाख बजेट छुट्टयाइएको छ । तर, पहिलो चार महिना (साउन–कात्तिक) सम्म ४ करोड ५४ लाख रुपैयाँ मात्रै खर्च गरिएको छ । 

पहिलो चौमासिकमा ४५९ जनाले मात्रै औसत ६६ दिनको रोजगारी पाएका कार्यक्रमको वेबसाइटमा उपलब्ध तथ्यांकमा उल्लेख गरिएको छ, जबकी चालु आर्थिक वर्षमा ६० हजार जनालाई औसत १०० दिनको रोजगारी दिने लक्ष्य राखिएको छ । कार्यक्रम सरु भएयताको ५ वर्षमा ७ लाख ७७ हजार जनाले औसत ६० दिनको मात्रै रोजगारी पाएका छन् ।

कार्यक्रमकी उपसचिव शोभाकुमारी पोखरेलले भने अहिले स्थानीय तहरुले कार्यक्रम अन्तर्गतका आयोजना धमाधम सञ्चालन गरिरहेको र त्यसबाटै रोजगारी सिर्जना गरिरहेको दाबी गरिन् ।

उनले कतिपय स्थानीय तहले कार्यक्रममा समावेश हुने आयोजनाहरु गाउँ तथा नगरसभाबाट पारित गर्न नै बाँकी रहेकाले समेत खर्च कम भएको उपसचिव पोखरेलले भनाइ छ ।