दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह  फैलाएको भन्दै पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो ।सीआईबीले प्रसाईंलाई हिजो (मंगलबार) बिहान भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । सीआईबीले थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रसाईंलाई अपराह्न आफू मातहतको साइबर ब्यूरोको जिम्मा लगाएको थियो । 

प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई हिरासतमा लिएको थियो ।

विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय महान्यायाधीवक्ताको कार्यालयले दिएको छ । 

सोमबार प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीको कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी रहेको दाबी गरेका थिए । 

सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले छानबिन प्रक्रिया अघि बढाएको हो । त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको सीआईबीले बताएको छ ।