भृकुटीमण्डपमा गर्ने भनिएको एमालेको जागरण सभाको स्थान परिवर्तन

भृकुटीमण्डपमा गर्ने भनिएको एमालेको जागरण सभाको स्थान परिवर्तन

काठमाडौं, ५ मंसिर । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते गर्ने जागरण सभाको स्थान परिवर्तन गरिएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको उक्त सभा अब दरबारमार्गमा आयोजना हुने एमालेले जनाएको छ । 

सो सभाअघि र्‍याली हुने छ । भद्रकालीबाट सुरु हुने र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।

यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा लिइएको छ । मंगलबार बसेको एमालेको बैठकले सभालाई ऐतिहासिक रुपमा सफल बनाउने निर्णय गरेको थियो ।

एमालेले सो सभामा कम्तीमा एक लाख कार्यकर्ता सडकमा उतार्ने रणनीति बनाएको छ । एमालेले बागमती प्रदेशका सबै जिल्लाबाट कार्यकर्ता, समर्थकलाई काठमाडौँ उतार्नेछ।

एमालेमा २३ वटा जनसंगठन छ। यसलाई परिचालन गर्न बनाइएको जनसमन्वय संयन्त्रलाई मानिस ल्याउने जिम्मेवारी तोकिएको एमालेले जनाएको छ ।

अखिल, युवा संघ र अनेमसंघले पाँच–पाँच हजार मानिस ल्याउने बताएका छन् । अन्य संघसंगठनले कम्तीमा हजार जना ल्याउने जनाएका छन् । जिल्ला–जिल्लाले सोही अनुसार उतार्नेछन्।

यसअघि सत्तामा हुँदा पनि ओलीले काठमाडौँमै प्रदर्शन गराएका थिए । पार्टी कमजोर भएको प्रचार हुन लागेपछि उनले यस्ता कार्यक्रम गर्न निर्देशन जारी गरेका छन् । जुन कार्यक्रममा आफैँ पुगेर सम्बोधन गर्छन् र कार्यकर्ताको मनोबल बढाउने कोसिस गर्नेछन् ।

२०७७ माघ २३ गते तत्कालीन नेकपामा अल्पमतमा परेपछि ओलीले नारायणहिटी अगाडि प्रदर्शन सभा राखेका थिए ।