हवाई इन्धन डिपो सिनामंगलबाट स्थानान्तरण गरिने
५ मंसिर, काठमाडौं । नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गरिने भएको छ ।
मन्त्रिपरिषद्ले साउन २०८१ मा डिपो स्थानान्तरण गर्ने निर्णय गरेअनुसार निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग विस्तृत अध्ययन प्रतिवेदन बनाउन आज (बुधबार) सम्झौता गरेको बताइएको छ ।
सिनामंगलमा रहेको यो डिपो गुह्येश्वरीतर्फ सार्न लागिएको निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।
उनका अनुुसार, जुन स्थान यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंकको खर्चमा विदेशी परामर्शदाताबाट अध्ययन गराई उपयुक्त भनी तोकिएको स्थान हो ।
अब अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थललाई सुरक्षित बनाउन डिपो सार्न लागिएको निगमले जनाएको छ ।
डिपो सारिएपछि अब अत्याधुनिक प्रविधि जडान गर्ने र त्यसले सेवा प्रदान गर्नसमेत सहज हुने पनि डिपो प्रमुख यादवले बताए । आगामी तीन वर्षभित्र डिपो सारिसक्ने योजना रहेको उनले बताए ।
लामो समयदेखि नागरिक उड्डयन प्राधिकरणले डिपो जोखिमयुक्त रहेको भन्दै सिनामंगलबाट स्थानान्तरण गर्न माग राखेपनि निगमले अटेरी गरिरहेको थियो ।
सिनामंगल डिपोले अहिले दैनिक ४ लाख ७५ हजार लिटर इन्धन बिक्री गर्दै आएको छ ।